मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ । कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो ।

जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसपाले विश्वासको मत दिन आनाकानी गरेको थियो । कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवले विश्वासको मत पाउने र नपाउने अनिश्चित बनेपछि केन्द्रीय तहमा कांग्रेस र एमालेको वीचमा संवाद भएको थियो ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए । दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् ।

केन्द्रीय तहमा भएको सहमति अनुसार मधेसका कांग्रेसका एक नेताले भने,‘मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us