काठमाण्डू, ६ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको तर्क गरेका छन ।
आज (बुधबार) संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले यस्तो बताएका हुन । उनले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको समेत बताएका छन ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको समेत बताएका छन । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन् ।
असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ ।’ संसदको कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको समेत उनले बताएका छन ।
उनले भने, ‘विगतमा हप्तादिन चल्ने छलफल यस पटक दुई दिनमै टुङ्ग्याइएको सत्य हो, तर यसलाई सरकारले पेल्न खोजेको रूपमा बुझ्नु हुँदैन ।
बरु कार्यपालिका र व्यवस्थापिका दुवैले ‘फास्ट ट्रयाक’ मा काम गर्न खोजेको रूपमा बुझ्नुपर्छ ।’ प्रधानमन्त्री संसदमा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहेको समेत बताए ।