विदेशिएका नेता र व्यवसायीलाई महन्थको आग्रह– देश फर्कनुस्

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १५:०७ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन अनुरोध गरेका छन ।

आज (बुधबार) विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन ।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्ने समेत बताए । अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत पनि गराएका छन ।

अध्यक्ष ठाकुरले भने, ‘अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौं, ‘हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ ।

पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’ राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us