विपक्षीलाई स्वर्णिमको कठोर जवाफः सरकारका दस्तावेजमा आफ्नै शब्द र भाषा खोज्ने भए अर्को चुनाव कुर्नुस्

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १८:५५ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै भाषा र शैलीको नीति कार्यक्रम र बजेट चाहिएको भए अर्को चुनावसम्म कुर्न भनेका छन् ।

संघीय संसदमा आफूले पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मंगलबार उनी विपक्षीप्रति कठोर भावमा प्रस्तुत भए ।

‘पुरानै शब्द जाल, आफूले लेख्दै, भोग्दै आएका र आफ्नै भाषा आफ्नै दस्तावेज ल्याउन उद्यत माननीय ज्यूहरूलाई मेरो विनम्र अनुरोध छ’, उनले भने, ‘ऐतिहासिक निर्वाचनको दुरगामी प्रभाव हुन्छ । यति कुरा मनन गरिदिनुपर्ला ।’

वाग्लेले पुराना दलप्रति लक्षित गर्दै ३० वर्षकै नीति र राजकीय शैली ठीक भएको भए राजनीतिमा पुस्तान्तरण हुने थिएन भन्ने तर्क गरे । पछिल्ला तीन दशकमा नेपाल, नेपाली नागरिक र समग्र अर्थतन्त्रले कुशासनको ठूलो मूल्य चुकाएको तथा सुस्त निर्णय प्रक्रिया, मिलोमतो, नितीगत अन्योल, विचौलिया प्रवृत्ति र संस्थागत दोहनका कारण मुलुकले आर्थिक अवसर, रोजगारी र सम्भावित आर्थिक वृद्धि गुमाएको दाबी उनले गरे । त्यसलाई आफूले मिसिङ जिडिपी भन्ने गरेको र त्यसको मूल्य अकल्पनीय रहेको उनको भनाइ थियो ।

विगतमा संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको र नागरिकको विश्वास कमजोर बनाएकाले प्रणाली सुधारमार्फत आर्थिक सुधार गर्ने दिशामा सरकार अग्रसर भएको बताए । वाग्लेले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा अघि सारेको वाचापत्र अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको जवाफ दिए ।

सुशासन सरकारको शीर्ष प्राथमिकता रहेको उल्लेख गर्दै उनले प्रणाली सुधारमार्फत आर्थिक सुधार र राज्य सञ्चालनको संस्कार परिवर्तन गर्नेको बाटोमा सरकार सरकार अघि बढेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us