काठमाण्डू, ५ जेठ– कांग्रेसको इतर समूहले काठमाण्डूमा सम्पर्क कार्यालय खोलेको छ । काठमाण्डूको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो ।
कांग्रेस नेताहरु गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ । बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले पार्टीको १५ औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना भएको जानकारी दिए ।
उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५ औँलाई महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’ उनले वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको समेत बताएका छन ।
नेता गुरु बराल पार्टी एकताको लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारी गर्न कार्यालय स्थापना गरिएको जानकारी दिएका छन । उनले भने, ‘पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५ औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेका हौं ।’