काठमाण्डू, ५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासंद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् ।
आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको समेत बताएका छन । जनआस्थाले सार्वजनिक गरेको समाचार के हो भन्ने प्रश्नको जवाफ दिन नचाहेका कार्कीले आफूलाई थाहा नभएको बताए । तर, पनि सञ्चारकर्मीले पछ्याइरहेपछि उनले भने, ‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु क्या ।’ त्यसपछि उनले आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर नांगो छाती देखाए ।
अनि सोधे, ‘कहिँनेर मेरो ट्याटु छ ?’ त्यसो भए तपाईं अब के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । ‘प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?’ कार्कीले भने । जुन सञ्चारमाध्यमले भिडिओ देखायो, त्यसमाथि कारवाही प्रक्रियामा जानुहुन्छ भन्ने प्रश्नमा उनले उही तर्क दोहोर्याए ।
‘तपाईंलाई मैले छाति खोलेर देखाएको होइन ? देख्नु भयो त टाटु ? अनि ?’ उनले प्रतिप्रश्न गरे ।गाडी सिकाएको चाहिँ के हो त ? ‘यो सबै छानविन हुन्छ क्या । त्यसपछि भनुँला ।’ कार्कीले थपे, ‘म २०६७ सालदेखि नेपालमा छैन । ७१ सालतिर चरी मरेको । म चरीको केटा हो त ? यत्तिकै बोल्दिने ? ल्याउनुपरो नि प्रमाण। त्यही भएर मलाई बोल्नै मन लाग्दैन ।’