काठमाण्डू, ५ जेठ– हिजो (सोमबार) राति वीरगञ्जबाट पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सचिवालयले तत्काल रिहा नगरे कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ । प्रसाईं निकटस्थहरुले पर्सा जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई वैशाख ३० गते नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको पत्र सार्वजनिक गरेका छन् ।
प्रसाईं समूहले आज बिहान साढे १० बजे गहवामाई मन्दिरमा पूजा र घण्टाघर क्षेत्रमा कोणसभा कार्यक्रम राखेको थियो । तर प्रशासनले ट्राफिकको कारण देखाउँदै नारायणी रंगशालामा गर्न स्वीकृति दियो ।
आजको कार्यक्रममा सहभागी हुन हिजो वीरगञ्ज पुगेका प्रसाईंलाई उनी बसेको होटल सिद्धार्थ दियालोबाट राति ९ बजे प्रहरीले पक्रेको थियो । प्रसाईंले बोलेकै आधारमा आफूलाई नसमात्न सर्वोच्च अदालतले आदेश दिएको छ भन्दाभन्दै पनि प्रहरी खनिएकोमा आपत्ति व्यक्त गरेको छ ।