भावी प्रधानन्यायाधीशविरुद्धको निवेदन दर्ता गर्न हच्किए सर्वोच्चका कर्मचारी

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १७:४० मा प्रकाशित

काठमाण्डू, ४ जेठ– सर्वोच्च अदालतको मुद्दा महाशाखाका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको लिखित आदेशका बाबजुद केही रिट निवेदनहरू दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन ।

प्रधानन्यायाधीश विरुद्धकै रिट निवेदनहरू दर्ता गर्न विगतमा पनि कठिनाइ हुने गरेको स्मरण गर्दै उनीहरूले अहिले पनि भावी प्रधानन्यायाधीश विरुद्धको निवेदनमा नेतृत्वले बलजफ्ती गरेर नतिजा ननिस्कने व्यंग्य गरेका छन ।

‘कामु प्रधानन्यायाधीशज्यूले रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश नै दिनुभयो, तर मुख्य रजिष्ट्रारज्यूले स्पष्ट भाषामा त्यो सम्भव छैन भन्ने संकेत गरिसक्नुभएको छ’ नाम गोप्य राख्न आग्रह गर्दै सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अब दुई दिनको कुरा हो, जे गर्नुपर्ने हो, त्यसपछि गरे भइगयो नी ।’

रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका कर्मचारीहरूका अनुसार, मनोवैज्ञानिक रुपमा पनि कर्मचारीहरू बहालवालाको तुलनामा हुनेवाला नेतृत्वप्रति ज्यादा बफादार र कृतज्ञ हुन्छन् । त्यसमाथि पनि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग मुख्य रजिष्ट्रार विमान पौडेल असन्तुष्ट भएकाले पनि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्धको निवेदन अघि बढ्न नसकेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us