सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

काठमाण्डु टुडे २०८३ जेठ १ गते १२:५० मा प्रकाशित

काठमाण्डू, १ जेठ– यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ ।

यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन सुरु गरीसकेका छन ।

यता, काठमाण्डू महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन ।

एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् । केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकिँदै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us