विपक्षीको बहिस्कार र अवरोधबीच नीति तथा कार्यक्रम पारित

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते २२:२७ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख- विपक्षीको बहिस्कार र अवरोधबीच सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले नीति तथा कार्यक्रम निणयार्थ प्रस्तुत गरेका थिए ।

सुविधाजनक बहुमतमा रहेको रास्वपाका सांसदहरुको मात्र समर्थनमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

अर्थमन्त्री वाग्लेले अवरोधबीच रोष्ट्रममा उत्रिएर जवाफ दिन थालेपछि विपक्षी दलहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिस्कार गरेका थिए ।

प्रमुख प्रतिपक्षी काँग्रेस र अर्को विपक्षी दल एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाइरहे । वाग्लेले बोलिसकेपछि एमाले सांसदहरुले पनि बैठक बहिस्कार गरे । प्रस्ताव पारित हुँदा काँग्रेस सांसदहरुले भने उभिएरै विरोध जनाए ।

त्यसअघि विपक्षीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिनुपर्ने मागसहित बैठक अवरुद्ध गरेका थिए ।

प्रधानमन्त्रीले सदनको मर्यादा कायम नगरेको आरोप उनीहरुको थियो । विपक्षीले संसदमा आएर जवाफ दिनुपर्ने अडान पटकपटक राखे पनि प्रधानमन्त्री शाह आएनन् । अर्थमन्त्री वाग्लेलाई जवाफ दिन लगाएर पन्छिए ।

बिहीबार दिनभर विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गरेका थिए । बहुमतले सबै संशोधन अस्वीकृत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us