काठमाण्डू, ३१ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएपछि प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएपछि विपक्षीले अवरोध गरेका हुन् ।
काँग्रेस प्रमुख सचेतक बासाना थापाले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताइन् । ‘सरकारको नीति तथा कार्यक्रम आयो । हामी चुपचाप सुनेर बस्यौं । तर, प्रधानमन्त्रीलाई सुन्नुभएन । सदनले प्रधानमन्त्रीलाई खोज्यो । नीति कार्यक्रममा उठेका प्रश्नको जवाप दिने क्रममा खै हाम्रो प्रधानमन्त्री ? उहाँलाई सम्मानित सदनले सुन्न नपाउने हो ? देख्न नपाउने हो ?’, उनले भनिन्, ‘यसले त सम्मननीय सभामुखज्यूको पनि अवमूल्यन भएन र । उहाँले उठेका प्रश्नको जवाफ दिनैपर्छ । ‘नो बट नो इफ’ प्रधानन्त्रीको उपस्थिति नरहेसम्म विरोध रहिरहन्छ ।’
नेकपा सांसद युवराज दुलालले गरिमामय सदनको ओज र सांसदरुले बोल्न पाउनुपर्ने अधिकारका लागि हिजोदेखि आफूहरुले संसद् चल्न दिएको बताए ।
तर, जवाफ दिन नआएर संसदजस्तो प्रतिशोध साँधेको टिप्पणी उनको थियो । ‘जित र हारको जस्तो प्रतिशोध साँधेको जस्तो देखएिको छ । २६५ जना सांसदको बराबरी अधिकार छ । हामीर्लाइ पनि जनताले जिताएर पठाएका हुन्’, उनले भने ।