सरकारको नीति तथा कार्यक्रम यथास्थितिवादी, चुनावी प्रतिबद्धतासँग मेल खाएनः वर्षमान पुन

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।

उनले यो कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका समेत व्यक्त गरेका हुन् । सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको पनि बताएका छन । प्रधानमन्त्रीले संसदमा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिएका छन ।

दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकांक्षा रहेको स्मरण गराउँदै उनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको पनि उनले बताए । बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो। राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसदमा देखिएको छ ।

सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन। सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।’ नेपालको राजनीतिक उपलब्धिका बारेमा चर्चा गर्दै उनले ६ दशक लामो संघर्षबाट सामन्तवादको अन्त्य भई संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us