संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैनः सुहाङ नेम्वाङ

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– एमाले सांसद सुहाङ नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर अग्रगमनका लागि हुनुपर्ने बताएका छन । आज (बिहिबार)प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद नेम्वाङले यस्तो बताएका हुन ।

उनले संविधान केवल अक्षरहरूको संग्रह मात्रै नभइ रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज रहेको समेत बताए । उनले भने, ‘मेरो स्पष्ट धारणा छ, संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई, जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर ‘अग्रगमन’ का लागि हुनुपर्छ, न कि ‘पश्चगमन’ का लागि, ‘यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमति दस्तावेज हो ।’

संविधान अंकगणितको जोडघटाउ मात्रै नभइ राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी भएको जिकिर गरे । ‘संविधान अंकगणितको जोडघटाउ मात्रै होइन यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी हो, गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ,’ नेम्वाङले भनेका छन्, ‘संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ्ग भरिनुपर्छ । तब मात्र त्यो कालजयी र साझा बन्छ ।’

नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प कतै नदेखिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन । ‘यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन । बजारको कुरा गछौं र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौं, तर प्रश्न उठ्छ— जब उत्पादन नै छैन, तब बजार र वितरणको मात्रै सपना बाढेर हुन्छ के ?,’ उनले भनेका छन्, ‘के हामी बजारको नाफामा मात्र बाँच्ने हो वा सधैँ विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने हो ?’

यदि समाजको एउटा तप्का भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने, ती चिल्ला सडकहरूको के अर्थ ? भन्दै उनले प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us