काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय सभामा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै एमालेकी सांसद झाँक्रीले यस्तो बताएकी हुन । उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरेर आतंकित सिर्जना गरेको समेत बताएकी छन । सरकारले अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसरमा भय र त्रास सिर्जना गर्ने काम गरिरहेको समेत उनले बताएकी छन ।
उनले भनिन्, ‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन ।’ उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी समेत गरेकी छन ।
उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि उनले बताएकी छन । उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरू दोहोर्याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठूलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाहिँ थियो ।
त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रूपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ ।’