काठमाण्डू, ३१ वैशाख– नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएपनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्ने बताए ।
संविधानले मार्गनिर्देश गरेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको सङ्कल्प नीति तथा कार्यक्रममा ओझेलमा परेको पनि उनले बताएका छन ।
सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने जस्ता ल्याएका कार्यक्रमहरू आकर्षक भएपनि तीनलाई पूरा गर्ने ठोस आधार नदेखिएको दुलालको भनाइ छ ।
प्रमुख सचेतक दुलालले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान नगएकोप्रति ध्यानाकर्षण गराए । कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणाभन्दा स्वदेशमै रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम र पेट्रोलियम जस्ता खनिज स्रोतको उत्खनन र उपयोगले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने तर्क पनि गरेका छन ।
‘यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन् । सामान्य कानूनी र संरचनागत सुधारले मात्र यति ठूला लक्ष्य प्राप्ति सम्भव छैन,’ दुलालले भने ।
कृषि क्षेत्रमा बाँदर र बँदेल जस्ता वन्यजन्तुले पुर्याउने क्षतिको क्षतिपूर्ति र बीमाको व्यवस्था गर्नुपर्ने उनको माग छ । यस्ता वन्यजन्तु नियन्त्रणका लागि कानूनी व्यवस्था गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उनले प्रस्ता गरेका छन ।