काठमाण्डू, ३१ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन शाह उपस्थित नभए संसद्मा विरोध जारी रहने जनाएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताएका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् । राईले भने, ‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो ।
संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ, ‘यदी प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’ उनले प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु उदासिनता होइन र ? भन्दै प्रश्न समेत गरेका छन ।
‘आज परिस्थिति यस्तो बनेको छ कि यो गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ । सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन संसदीय व्यवस्थाप्रतिको उदासिनता होइन र ?’ राईले प्रश्न गरे, ‘अझ दुखको कुरा सत्तापक्षका सदस्यहरू यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ ।’