काठमाण्डू, १८ वैशाख– रोल्पामा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा ३२ वर्षीय समीर कामीले आफ्नो ज्यान जोगाउन सफल भएका छन ।
रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का समिर जीपको छतमा बसेर यात्रा गरिरहेका थिए । छतमा उनीसँगै अर्का एक जना पनि थिए। पहाडको भित्री र कच्ची बाटोबाट जीप ढलपल गर्दै गुडिरहेको थियो। त्यहीबीच एकाएक उनीहरू जीपबाट झरे।
तर, भाग्य–समिर उछिट्टिएर केही पर पुगे। त्यहीबीच उनले एउटा रूखको जरा समात्न भ्याइहाले । समिरसंगै छतबाट खसेका अर्का व्यक्ति गाडीसँगै झरे । समिरले रूखको जरा छोडेनन् । सोही कारण उनले दुर्घटनामा ज्यान जोगिए। ‘म पनि जाने थिए ।
यस्तो भिरालो जमिन थियो,’ उनले भने, ‘ठ्याक्क मैले रूखको जरा देखेँ र त्यही पकडेर म अडिए।’ उनी रूकुम पूर्व जिल्ला अस्पतालबाट बिहीबार राति ११ बजेपछि डिस्चार्ज भइ घर फर्किएका छन् ।
उनको बाँया खुट्टा, निधार र बाँया आँखामा चोट लागेको थियो। घाइते अवस्थाका उनलाई प्रहरीले उद्धार गरी सुरूमा आधारभुत जलजला अस्पताल थवाङ रोल्पा पुर्याएको थियो। त्यहाँबाट उनलाई राति रूकुम पूर्व अस्पताल लगिएको थियो । समिर राति डिस्चार्ज भए। समिरका अनुसार उनकी आमा र भिनाजु लगायत अन्य सबै सोही दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
उनीहरू सवार लु १ ज ४१६७ नम्बरको जीप दिउँसो करिब पौने ३ बजेतिर रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापबाट झन्डै ८०० सय मिटर तल खसेको थियो । जीप सिस्ने गाउँपालिका–५ टाकुराका बेदबहादुर बिकले चलाएका थिए । जीपमा सवार २० जनाको मृत्यु भएको छ।