काठमाण्डू, १७ वैशाख– गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा स्थानीय ४२ वर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र बागलुङ घर भई हाल नवलपरासी बस्दै आएका ३९ वर्षीय पदमबहादुर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सहकारी संस्थाका अनुसार सहकारीमा चोरी गर्ने उद्देश्यले आएका उनीहरूले सुरक्षागार्डमाथि आक्रमण गरेका हुन् । प्रहरीका अनुसार ६ वैशाख राति भण्डारी ताला फुटाएर सहकारी भवनभित्र प्रवेश गरेका थिए ।
चोरी गर्ने उद्देश्यसहित गएका उनले सुरक्षागार्ड छविलाल ढकाललाई फलामको रेन्चीले टाउको लगायत शरीरका विभिन्न भागमा हिर्काएर गम्भीर घाइते बनाएर फरार भएका थिए ।
‘पैसा खोज्दा नभेटेपछि सुरक्षागार्ड सुतिरहेको कोठाभित्र पसेर भण्डारीले फलामे रेन्चीले हिर्काउन थालेछन्,’ प्रहरी निरीक्षक सरोज कार्कीले भने, ‘सुरक्षागार्डले साइरनको बटम थिच्न भ्याएछन्, साइरन बजेपछि उनी त्यहाँबाट भागेका रहेछन् ।’
घटना लगतै फरार रहेका उनीहरूलाई १३ वैशाखमा पक्राउ गरिएको कार्कीले बताए । ढकाललाई चितवन र भण्डारीलाई नवलपरासीबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन ।
सम्बन्धित जिल्लाका प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको छ ।