काठमाण्डू, १७ वैशाख– सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पुर्याएको छ । बुधबार राति राष्ट्रपति कार्यालय पुर्याइएको अध्यादेशसँगै अहिलेसम्म सरकारले तयारी गरेको अध्यादेशको सङ्ख्या ७ पुगेको छ ।
राष्ट्रपति कार्यालय पुर्याएको पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन तथा नियुक्तिसम्बन्धी रहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि राष्ट्रपति कार्यालय पुगेका ६ अध्यादेशमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सहकारी ऐन संशोधन अध्यादेश, विश्वविद्यालयसम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश छन् ।
सरकारले पठाएका अध्यादेशबारे थप अध्ययन एवं राय लिन राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार ४ बजे शीतलनिवासमा केही कानुनविद्हरूलाई समेत बोलाएका छन् ।
संसदको अधिवेशन रोकेर संसदको बाटो छली सरकारले ल्याउन लागेका अध्यादेशप्रति विपक्षी दलहरूले विरोध गरेका छन् भने राष्ट्रपतिलाई कुनै हालतमा ती अध्यादेश जारी नगर्न आग्रह गरिसकेका छन् ।