काठमाण्डू, १३ वैशाख– मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा भेटीएकी छन ।
उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा लगिएको थियो । यो घटना शुक्रबार मध्याह्न करिब १२ बजेको हो । ती कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा थिइन् ।
परिवारका सदस्यहरुले उनलाई सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले मानसिक तनाव दिएकाले आत्महत्या प्रयास गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो ।
उजुरी दर्ता नम्बर ७३६६ हो । प्रहरीले पीडकहरूलाई नियन्त्रणमा लिएर सोधपुछसमेत नगरेको भन्दै पीडित परिवारले गुनासो गरेको छ । पीडितका भाइले आरोपितहरूलाई राजनीतिक संरक्षण रहेकाले प्रहरीले कारबाही प्रक्रियासमेत अगाडि नबढाएको आरोप लगाए ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले पीडित उपचार गरेर फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने जानकारी दिएका छन ।
घटनास्थलमा भेटियो ‘अलबिदा’ लेखिएको कागज
कर्मचारीमाथि कार्यस्थलमा भएको दुर्व्यवहारका कारण उनले विषादी सेवन गर्न बाध्य भएको परिवारका एक सदस्यले जिकिर गरेका छन् । आरोपित ७ जनाले ती कर्मचारीमाथि पटक–पटक गालीगलौज गर्ने, गैरकानुनी काम गर्न दबाब दिने, चरित्र हत्या गर्ने तथा धम्की दिनेजस्ता व्यवहार गरेको उजुरीमा उल्लेख छ ।
पीडितले विष सेवन गर्नुअघि ‘अलबिदा’ लेखेको करिब ७–८ पेजको सुसाइड नोटसमेत फेला परेको उनका भाइले बताए । ‘दिदीले विष सेवन गर्नुअघि भिनाजुलाई खबर गरिदिन भनेर भन्नुभएको रहेछ । पछि ढोका फुटाएर दिदीलाई कार्यालयबाटै उद्धार गरी अस्पताल लगिएको हो, चितवन आएर उपचार गरिरहेका छौँ,’ उनले भने ।
घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् । सहकारीका अध्यक्ष राजु वाइबाले ती कर्मचारीलाई तीनवटा जिम्मेवारी रहेकाले प्रशासन विभागको जिम्मेवारी छाड्न भनेको र सोही विषयमा उनी असन्तुष्ट बनेको बताए । उनका अनुसार पीडित कर्मचारीलाई कामु व्यवस्थापकसँगै ऋण विभाग र प्रशासन विभागको जिम्मेवारी छ ।
कार्यसमिति बैठकले नै सुशील सुवेदीलाई प्रशासन प्रमुख बनाउने निर्णय गरेकाले सफ्टवेयरको एडमिन उनलाई बनाउन खोजिएको वाइबाले बताए । ती कर्मचारीले आरोप लगाएजस्तो कुनै गतिविधि नगरेको वाइबाले दाबी गरे । उजुरीमा अन्य व्यक्तिको नाम मुछिनु आधारहीन भएको उनको दाबी छ ।