काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आफ्नै व्यवस्था अझै पूर्ण रूपमा संस्थागत हुन नसकेको बताएका छन्।
७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपाली क्रान्तिलाई निर्णायक दिशामा अघि बढाउन सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका हुन्।
प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक र फासिवादी प्रवृत्तितर्फ उन्मुख भइरहेको उल्लेख गर्दै महान् लेनिनका विचार र आदर्श अझ सान्दर्भिक बन्दै गएको बताएका छन्। यस्तो अवस्थामा विभेदरहित समतामूलक समाज निर्माणका लागि समाजवाद र साम्यवादको लक्ष्य बोकेका शक्तिहरूबीचको एकता ऐतिहासिक आवश्यकता भएको उनको भनाइ छ।
उनले नेकपाले अघि सारेको मार्गदिशाअनुसार सामन्ती निरंकुशताको अन्त्य गर्दै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको स्मरण गराएका छन्। कम्युनिस्ट आन्दोलनले उपेक्षित र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन्।
प्रचण्डले विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको संरक्षण गर्दै गरिब किसान र श्रमजीवी जनताको पक्षमा क्रान्ति अघि बढाउने जिम्मेवारी अझ बढेको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।
यस अवसरमा उनले स्वतन्त्रता, समानता र न्यायका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन्।