काठमाण्डू, २५ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारीले बन्द उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार उनले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थाका उद्योग सञ्चालनमा ल्याउन सरकारलाई भनेकी हुन् ।
सरकारले हालै बन्द उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेकामा अधिकारीले प्रशंसा गरिन् । ‘सरकारले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ ।
उक्त घोषणाको म स्वागत गर्न चाहन्छु’, उनले भनिन्, ‘विराटनगर लगायत मुलुकको सम्पूर्ण प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यावसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास लिएको छु ।’
अधिकारीले पछिलो तीन दशकमा भएको भ्रष्टाचार, कुशासन, दण्डहीनता र स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा र बेरोजगारी समस्याले जेनजी आन्दोलनको मृष्ठभूमि तयार पारेको उल्लेख गरिन् ।
मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रास्वपालाई मतदाताले करिब दुई तिहाइको अभिमत दिएको भन्दै उनले उक्त ऐतिहासिक कार्यभार पूरा गर्ने आफूहरुको दायित्व भएको स्पष्ट गरिन् ।
पहिलोपटक संसदमा सम्बोधन गरेकी उनले लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका बीपी कोइराला, पुष्पकाल श्रेष्ठ, तुल्सीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र आफ्ना स्वर्गीय पिता पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको योगदानलाई स्मरण गरिन् ।