काठमाण्डू, २५ चैत– एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन ।
आज (बुधाबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन । उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनु भएका माननीय सदस्यज्यूहरूमा किन विभेद ?’
प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग प्रदेशगत रुपमा भेट गरेका छन् । तर, यसमा प्रत्यक्षलाई मात्रै सहभागी गराइएको भनेर एमाले सांसद हमालले प्रश्न समेत गरेकी छन ।
‘प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय ज्यूहरूलाई भेटी विकास निर्माणको विषयमा कुरा राख्न पाउने अवसर प्रदान गर्नुभएको कुरा सुन्न आएको छ । तर, समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्यूहरू उक्त अवसरबाट किन बन्चित ?’ उनले प्रश्न गरिन् ।