काठमाण्डू, २४ चैत– ललितपुर महानगरपालिका–१४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षीय बिदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी उनीहरु गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि अल्का अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो १ः १० बजे मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका– १२ बस्ने ३३ वर्षीय विनोद खा थारुलाई नियन्त्रणमा लिएको छ । उनलाई हाल जिल्ला प्रहरी परिसर जावलाखेलमा राखिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।