उपराष्ट्रपति यादव अस्वस्थ

काठमाण्डु टुडे २०८२ चैत २४ गते ११:५९ मा प्रकाशित

काठमाण्डू, २४ चैत– उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन । उपराष्ट्रपति यादवलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको जानकारी दिए । ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्‍याउँदा प्रेसर उच्च थियो,’ डा. गजुरेलले भने, ‘पेटमा ग्यास पनि भरिएको थियो ।’ डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ ।

‘कतिपय परीक्षण गरिएका रिपोर्ट नर्मल आएका छन्, केही परीक्षणका रिपोर्ट आउन बाँकी छ,’ उनले भने । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ उपचारमा संलग्न छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us