बालेनसँग वर्षमानले भनेः भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्

काठमाण्डु टुडे २०८२ चैत २३ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, २३ चैत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन ।

प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए । उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाइ गर्न नहुनेमा जोड दिएका छन । उनले भने, ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन, ‘अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणको कामलाई गति दिन माग गरे । उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्त्व रहेको बताएका छन । उनले शहीद मार्गको घोराही–होलेरी– खण्ड कालोपत्रे तथा रोल्पाको सुलीचौरदेखि उवासम्म स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिदिन आग्रह गरे ।

पुनले रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारसँग माग गरे । रोल्पा नगरपालिका १ र २ मा माडीखोला थुनेर बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्ने सरकारी स्वामित्वको हाइड्रो इलेन्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसनको संयुक्त लगानीमा निर्माण ढाँचा तयार पारिएको उक्त आयोजनाको निर्माण रोकिएको छ ।

पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१–०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

एकीकृत विकास अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी निजी क्षेत्रसँगको साझेदारीमा त्रिभुज परियोजना अघि बढाउन सकिए नयाँ आर्थिक केन्द्र विकास हुने र त्यसले मुलुकको समग्र अर्थतन्त्रमै ‘गेम चेन्जर’ को भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us