काठमाण्डू, २३ चैत– एमाले नेतृ एवं राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिन नभएको दाबीसहित सरकारलाई प्रश्न गरेकी छन ।
आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै एमाले नेतृ झाँक्रीले सरकारलाई प्रश्न गरेकी हुन । उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ भइरहेको पनि बताएकी छन ।
उनले भनिन्, ‘भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?’ उनले भनिन्, ‘२३ गतेको घटनाबारे केही प्रतिवेदन आए । २४ गते खण्डहर भएका सिंहदरबारजस्ता संरचना जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ?’
नवयुवालाई गलत ढंगले परिचालन गर्ने र सिंहदरबारलगायत ठाउँलाई खण्डहर बनाएकामा आफू भावविह्वल भएको समेत बताएकी छन । उनले त्यस घटनाको तथ्य सार्वजनिक हुनुपर्ने माग राखिन् ।
सरकारले कार्पेटमुनि धुलो राखेर सब ठीकठाक छ भनेर हिँड्ने काम गर्न नहुने पनि उनले बताएकी छन ।