काठमाण्डू, २३ चैत– कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेण्डागत रुपमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ– आउनुहोस्, राष्ट्रिय एकता गरौँ यसको लागि सहकार्य गरौँ । एजेन्डाहरु तयार गरौँ ।’ निर्वाचनसम्म विचार फरक हुन सक्ने, पार्टी फरक हुन सक्ने तर निर्वाचनपछिको लक्ष्यसमुन्नत नेपाल, सम्मानित नेपाली बनाउने एउटै सबैको रहेको समेत उनले बताएका छन ।
सांसद् कर्णलेले लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता रहेको पनि बताए । संसदलाई भाषण गर्ने मात्र स्थान नभई जनअपेक्षालाई नीतिमा रूपान्तरण गर्ने जिम्मेवार मञ्च भएको उल्लेख गरे । उनले संसदको गरिमा जोगाउँदै जनविश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
लोकतन्त्रमा जनताको आदेश सर्वोपरि हुने उल्लेख गर्दै कर्णले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण समेत गराए । जसले २००७ सालदेखि २०६२÷६३ का आन्दोलनसम्म लोकतान्त्रिक आधार निर्माणमा योगदान दिएको बताए तर, विगतका उपलब्धिसँगै कमजोरीहरू पनि स्वीकार्नुपर्ने उनको भनाइ थियो ।
संविधानमार्फत अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसकेको उनले बताएका छन । ढिलासुस्ती, नीतिगत अवरोध र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै उनले युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको पनि उनले बताएका छन ।
कर्णले शिक्षा, स्वास्थ्य, सुशासन र सामाजिक न्यायजस्ता क्षेत्रमा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताएका हुन् ।
पार्टी सभापति गगनकुमार थापा को ‘भिजन टेन’ र सरकारका एजेन्डाबीच समानता रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा सहकार्य हुने बताए ।
उनले नेपाली कांग्रेस ‘रूपान्तारित कांग्रेस, परिवर्तित देश’ को दृष्टिकोणसहित युवा स्वरोजगार, नवप्रवर्तन र आप्रवासी सीप उपयोगमा केन्द्रित रहेको पनि बताए ।
अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिमार्फत राष्ट्रिय हित संरक्षण गर्दै आर्थिक विकासलाई गति दिन सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले जनाए ।