नेपाल सक्न विभिन्न शक्ति लागेका छन्, त्यसमा हाम्रा साथीहरू प्रयोग भएः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ चैत १८ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, १८ चैत– कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्णबहादुर खड्कालाई सचेत गराउने अनुशासन समितिको निर्णय सुन्दा दुःख लागेको तर डराउनुपर्ने केही नभएको बतताएका छन ।

पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको महाराजगन्जको स्मार्ट होटलमा बसिरहेको बैठकमा नेता डा. कोइरालाले यस्तो बताएका हुन ।

बैठकमा नेता कोइरालाले भने, ‘पूर्णबहादुरजीलाई सचेत गराउने अनुशासन समिति बैठकको निर्णय सुने दुःख लाग्यो । तर, यसबाट डराउन पर्ने कुनै कारण छैन ।’पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य निकालेको भन्दै खड्कालाई सचेत गराउने निर्णय गरेको थियो ।

डा.कोइरालाले सबै पक्षलाई समेट्दै अगाडि बढ्नुपर्ने बताए । निर्वाचन हार्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा होमिएको भन्दै उनले बालेन्द्र शाहले सिङ्गो निर्वाचनभर २७ मिनेट बोलेर प्रधानमन्त्री बनेको बताए ।

‘सबैभन्दा लामो जनकपुरमा ६ मिनेट बोलेका थिए । निर्वाचनभर २७ मिनेट बोलेर प्रधानमन्त्री बने,’ डा.कोइरालाले भने । विशेष महाधिवेशन केन्द्रीय समितिको निर्णयबाट गर्नुपर्ने भए पनि नगरेर भन्दा पनि कसैले नसुनेको उनको भनाइ थियो ।

‘विशेष महाधिवेशन केन्द्रीय समितिको निर्णयबाट गर्नुपर्थ्यो,’ डा।कोइरालाले भने, ‘भनेको कसैले सुन्नुभएन । नसुन्नेहरू यता पनि हुनुहुन्छ, उता पनि हुनुहुन्छ ।’नेपाल अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको र नेपाललाई नै समाप्त गर्न खोजेको उनको भनाइ थियो ।

त्यसमा कांग्रेस नेताहरू पनि प्रयोग भएको कोइरालाको आरोप छ । ‘नेपाल समाप्त पार्ने विभिन्न चलखेल भइरहेका छन् । त्यसमा हाम्रा साथीहरू पनि प्रयोग भएका छन्,’ डा।कोइरालाले भने । को प्रयोग भएको हो भन्ने कोइरालाले खुलाएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us