हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत १८ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, १८ चैत– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज (बुधबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार हेटौंडा–९ घर भएकी १८ वर्षीया एकता वैद्य रहेकी प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकलसँग ठक्करपछि मृतक वैद्य सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३१४५ नम्बरको सिमेन्ट बोकेको ट्रकमा ठोक्किन पुग्दा टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत भएको हो । दुर्घटनामा सोही मोटरसाइकलका चालक हेटौंडा–४ कर्रा निवासी १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् ।

अर्को मोटरसाइकलका चालक चितवन इच्छाकामना गाउँपालिका–५ बदेलटार निवासी २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरिया प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us