विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज

काठमाण्डु टुडे २०८२ चैत १७ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, १७ चैत– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट पारेको हो । पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन् ।

७ सय भन्दा बढी शुल्क नबढेको प्रष्ट पार्दै विभागले त्यो भन्दा बढी लिएको भए उजुरी गर्न अनुरोध गरेको छ । अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७०० रुपैयाँ नै हुने विभागले प्रष्ट पारेको छ ।

२०८१ असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उक्त शुल्क नै कायम रहेको प्रष्ट पार्दै त्योभन्दा बढी शुल्क लिने व्यवसायीको अनुमति )इजाजत पत्र) स्वतः रद्द गरिने चेतावनी समेत दिएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार नै तालिमका सबै मापदण्ड लागु हुने विभागले जनाएको छ । केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको भन्दै विभागले त्यस्तो नगर्न सचेत गराएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us