सांसदहरुलाई पूर्णबहादुरले भनेः संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं

काठमाण्डु टुडे २०८२ चैत १६ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, १६ चैत– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न अनुरोध गरेका छन ।

आज (सोमबार) धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै कांग्रेस नेता खड्काले यस्तो बताएका हुन ।

उनले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको समेत बताएका छन । उनले भने, ‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ, संख्याको हिसाबले हामी कम भएपनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’ संसदीय गतिविधिमा रहँदा देश र जनताका पक्षमा प्रखर रूपमा प्रस्तुत हुन उनले नव निर्वाचित सांसदहरूलाई आग्रह गरे ।

‘कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा हामीले वर्षौँको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा तपाईँहरू प्रखर रूपमा प्रस्तुत हुनुहुनेछ,’ उनले भने । संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने उनले बताए ।

उनले भने, ‘सबै खालको सहयोग, सद्भाव, सुझाव र शुभकामना सधैँ रहनेछ । तपाईँहरुले सम्झेको बेलामा हामी प्रस्तुत हुनेछौँ ।’ संसदीय प्रतिस्पर्धा, प्रस्तुति र देश तथा जनताको पक्षमा सुदृढ रूपमै प्रस्तुत रहन सांसदहरूसँग नेता खड्काले आग्रह गरे ।

यसअघिको सरकार बनाउँदा संविधान संशोधनलाई मूल मुद्दा बनाएपनि त्यसमा अघि बढ्न नसकेको बताउँदै अब संविधान संशोधनका पक्षमा उभिन पनि उनले आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us