शक्तिको आडमा उन्मुक्ति पाएकी एमाले प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १६ गते ३:३० मा प्रकाशित

काठमाण्डू, १६ चैत- एमाले नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।

प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति अबेर काठमाण्डूको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो ।

एक १४ वर्षीया बालिकालाई घरेलु कामदारका रुपमा राखेर श्रम शोषण तथा शारीरिक यातना दिने गरेको आरोप उनीमाथि थियो । वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाण्डू महानगरपालिकाको मेयर हुँदा महानगरले बालिकालाई शर्माको घरबाट उद्धार गरेको थियो ।

पीडित परिवारका तर्फबाट दिइएको जाहेरीका आधारमा मुद्धा दर्ता गर्नुपर्नेमा सत्ता र शक्तिको आडमा महान्यायाधिवक्ता कार्यालयबाट मुद्धा नचल्ने निर्णय गराउन शर्मा सफल भएकी थिइन् ।

बालश्रमजस्तो गम्भीर अपराधमा मुछिएकी शर्मालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले उन्मुक्ति दिएको थियो । शर्मालाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिएको विरोधमा विघटित प्रतिनिधिसभामा विपक्षी सांसदले प्रश्न उठाए पनि सुनुवाई भएको थिएन ।

ती बालिकालाई काठमाण्डू महानगरले एक संस्थाको संरक्षणमा राखेर पढाइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us