काठमाण्डू, १५ चैत– काठमाण्डू जिल्ला अदालतले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा राखिएको थियो ।
अहिले पनि गणमै राखेर बयानको काम गरिने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिए । सामान्यतयास् जुन प्रहरी कार्यालयले अनुसन्धान गर्नुपर्ने हो त्यही प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने चलन छ ।
हिरासत नभएको अवस्थामा मात्रै अन्य कार्यालयमा राखिन्छ । तर हाइप्रोफाइल तथा पूर्वगृहमन्त्री समेत रहेका लेखकलाई सुरक्षाका कारण २ नम्बर गणमा राखिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डू भद्रकालीमा रहेकाले मान्छे भेटघाट गर्न आउनेको संख्या पनि बाक्लो हुने, परिसरका प्रहरीहरू अन्य दैनिक कामकारबाहीमा व्यवस्त हुने भएकाले सुरक्षामा असर पर्नसक्ने भन्दै लेखकलाई २ नम्बर गणमा राखिएको हो । लेखकसँगै पाँच दिन म्याद थप भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने त्रिवि शिक्षण अस्पतालमै राखिने भएको छ ।
उनको स्वास्थ्यको कारण यसअघि अस्पतालमा राखिएको थियो । काठमाण्डू जिल्ला अदालतले समेत आइतबार म्यादका लागि दिएको आदेशमा समेत उपचारको प्रबन्ध मिलाउन भनिएको छ । जसकारण उनी भने अस्पतालमै रहने एसएसपी थापाले बताए ।