देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

काठमाण्डु टुडे २०८२ चैत १५ गते १२:३६ मा प्रकाशित

 

काठमाण्डू, १५ चैत– सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ ।

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ । सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो । गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।

शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले जानकारी दिएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता, नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालिन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारबारे उजुरीको छानबिन भइरहेको हो’ शम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, ‘त्यसैको सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काममा रोक लगाइएको हो ।’

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठ एउटा कम्पाउण्डभित्र दुईवटा बंगालो बनाएका थिए । त्यसबारेमा यसअघि नै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us