रवि लामिछानेले काठमाण्डू जिल्ला अदालत पुगेर बुझे तारेख

काठमाण्डु टुडे २०८२ चैत १५ गते १२:३० मा प्रकाशित

काठमाण्डू, १५ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाण्डू जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् ।

सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनको सचिवालयका अनुसार आइतबार बिहान उनी अदालत पुगेर तारेख बुझेका हुन् । काठमाण्डूको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाण्डू जिल्ला अदालतमा परेको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।

रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us