काठमाण्डू, ७ पुस– कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन ।
आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र ‘दुःखद्’ कालो दिनु को संज्ञा दिएका हुन् ।
भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता (जेनजी) सडकमा उत्रिँदा भएको उक्त घटनामा धेरै नौजवानले ज्यान गुमाउनु परेको भन्दै उनले गहिरो दुःख व्यक्त गरेका छन ।
सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक भएको तर्क गर्दै महामन्त्री थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हुने बताएका छन । उनले भने, ‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ, म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ ।’
ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले यसबाट उम्किन नमिल्ने बताएका छन । थापाले उक्त घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी समेत गरे।
घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन ।
ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ ।’