प्रचण्ड र माधव नेपालले रोजे वामदेवको माले कालीन चुनाव चिह्न तारा

काठमाण्डु टुडे २०८२ कार्तिक १६ गते २०:०२ मा प्रकाशित

काठमाण्डू, १६ कात्तिक– नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपालजवादी पार्टी (नेसपा), विप्लव समूहबाट अलग भएको चिरण पुनसमूहसहित विभिन्न ८ कम्युनिष्ट घटकबीच एकता भएर बन्ने नयाँ पार्टीको चुनाव चिन्ह तारा रहने भएको छ ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रमबीच पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव चिरन पुन, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

१८ बुँदे सहमतिको १७औं बुँदामा पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने उल्लेख छ । सोही बुँदामा नाम लेख्ने ठाउँ भने खाली राखिएको छ । नामबारे सहमति भए पनि निर्वाचन आयोगमा दल दल दर्ताको निवेदन दिने बेला मात्र सार्वजनिक गर्ने सहमति उनीहरुले गरेका छन् ।

हाल एकीकृत ग समाजवादीमै रहेका वामदेव गौतमले ०५४ सालमा एमाले विभाजन गरी माले गठन गरेका थिए । त्यतिबेला मालेको चुनाव चिह्न तारा थियो । ०५६ सालको संसदीय निर्वाचनमा देशका तत्कालीन २ सय ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको मालेले सम्मानजनक मत ल्यायो । तर, एक सिट पनि जित्न सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us