काठमाण्डू, २५ कात्तिक- एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित मंसिर ६ गते काठमाण्डूमा जनप्रदर्शन गर्ने भएको छ । अध्यक्ष केपी ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालयको ५९औं बैठकले प्रतिनिधिसभा पुनःस्थापना तथा संविधान र लोकतन्त्र संरक्षणका लागि देशव्यापी जनपरिचालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संविधान रक्षा र लोकतान्त्रको निरन्तरताका लागि एमाले जनतामा जाने बताए ।
एमालेले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम तय गरेको छ । पार्टीले २२ कात्तिकमा देशभरका ६ हजार ७ सय ४३ वटै वडा, २५ कात्तिकमा ७ सय ५३ वटै स्थानीय तह र २९ कात्तिकमा ७७ वटै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ ।
अन्तिम चरणमा मंसिर ६ गते काठमाण्डूमा वृहत प्रदर्शन र विरोधसभा गर्ने तय भएको ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाको माग एमालेको प्रमुख राजनीतिक एजेन्डा बनेको छ । “संविधानको मर्ममाथि प्रहारको विरोधमा हामी जनतामा जान्छौं,” उनले भने ।
एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको संस्थागत विकास र जनताप्रति उत्तरदायी शासन प्रणालीको आवश्यकता जनतासामु उजागर गर्ने बताएको छ ।