२६ सय बिन्दुमा उक्लियो सेयर बजार

काठमाण्डु टुडे २०८२ कार्तिक १३ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, १३ कात्तिक- बिहीबार सेयर बजार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३४.२२ अंकले बढेर २६००.३८ अंकमा पुगेको हो । सूचकांकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

अघिल्लो दिन ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । हिमालयन बैंकको संस्थापक सेयरमा मात्रै १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कुल २१६ कम्पनीका सेयर मूल्य बढेका छन् भने २८ कम्पनीका घटेका छन् भने ५ कम्पनीको मूल्य स्थिर रहेका छन् । बजारमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २.६७ प्रतिशतले वृद्धि भएको छ ।
जीवन बीमा समूह १.८० प्रतिशत, निर्जीवन बीमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.७४ प्रतिशत, माइक्रोफाइनान्स १.६० प्रतिशत, फाइनान्स १.६० प्रतिशत, लगानी १.३५ प्रतिशत, विकास बैंक १.२३ प्रतिशत, अन्य १.०६ प्रतिशत, व्यापार ०.८८ प्रतिशत, होटल तथा पर्यटन ०.७५ प्रतिशत र बैंकिङ समूह ०.३३ प्रतिशतले बढेका छन् ।
गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तका सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

यस्तै सुपर मादी हाइड्रोपावरको ९.५४ प्रतिशत, गणपति लघुवित्तको ९.४६ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ९.०८ प्रतिशतले वृद्धि भएको छ ।

आशा लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.७९ प्रतिशतले घट्यो । उपकार लघुवित्त ३.९६ प्रतिशत र हिमालयन पावरको मूल्य ३.७५ प्रतिशतले घटेको छ ।

हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भयो । राधि जलविद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनीको सेयर क्रमसः धेरै कारोबार गर्ने कम्पनी बने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us