महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच भेटवार्ता

नेपाल–कतार संयुक्त व्यापार परिषद् बैठक काठमाण्डूमा हुने

काठमाण्डु टुडे २०८२ भदौ १५ गते २१:३० मा प्रकाशित

काठमाण्डू, १५ भदौ–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाण्डूमा आयोजना गर्ने सहमती भएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए ।

उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शिघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।
नेपाल–कतार संयुक्त व्यापार परिषद् स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतार लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
‘नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु’, उनले भने ।
ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे । ‘उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि–मैत्री संस्था बनाउन अमूल्य सहयोग पु¥याउनेछ’, ढकालले भने ।
भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए ।
यस्तै उनले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकारका भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको अध्यक्ष ढकालले जानकारी दिए ।
यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाण्डूमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् ।
दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा ‘कतार केन्द्रित विशेष लगानी सत्र’ आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।
‘लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल कतार साझेदारीलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ । नेपाली उत्पादन चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता नेपाली कृषि उत्पादनहरूलाई कतारको बजारमा पहुँच बढाउन ठूलो सम्भावना छ’, उनले भने ।
अध्यक्ष ढकालले यी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणीकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ्ग पहलमा सहकार्य गर्न प्रस्ताव गरे । भेटका अवसरमा चेम्बर अध्यक्ष थानीसहित कतार चेम्बरका उच्च पदाधिकारी तथा व्यवसायीहरुको उपस्थिति थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us