काठमाण्डू, २४ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नरहेको बताएका छन । आज (शनिबार) न्युज एजेन्सी नेपालसँग काठमाण्डूमा कुराकानी गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन ।
उनले नागरिकमाथि शङ्का गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको पनि बताएका छन उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको पनि बताए । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ ।
नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने र वदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ । नेपालमा कानूनको दुरुपयोग र अपव्याख्या धेरै हुने हुँदा यस्ता कानुनहरू सत्ता र शक्तिमा बस्नेहरूले आफू अनुकूल प्रयोग गर्ने जोखिम रहेको पनि बताएका छन । उनले सरकारले जनतालाई स्पष्ट रूपमा भनेर मात्र यस्ता कानुनहरू निर्माण गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले ०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यस्तै कानुन ल्याउन खोज्दा धेरै विरोध भएपछि अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सोही व्यक्ति प्रधानमन्त्री हुँदा ल्याउन खोज्दा शङ्काको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
उनले भने, ‘यस विधेयकमा मैले दिने प्रथम प्रतिक्रिया के हो भने यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढङ्गले व्यवहार गर्ने विषयमा दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाईफ्रेण्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो । नेपालको संविधानले दिएको गोपनीयताको हक बमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो नि । यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ ।’