जब कार्यक्रमको बिचमै पूर्वमुख्यमन्त्री शाही उठेर हिँडे…

काठमाण्डु टुडे २०८२ साउन २३ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २३ साउन– आज (शुक्रबार) बिहान कर्णाली प्रदेशको अर्थमन्त्रालयले एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको शीर्षक थियो–कर्णाली प्रदेश सरकारको समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधिहरू संशोधनको प्रारम्भिक मस्यौदा उपर छलफल तथा अन्तर्क्रिया ।

सिद्धार्थ होटेलमा आयोजित कार्यक्रमका सहभागी थिए, प्रदेशसभाका ४० सांसद, मन्त्री, पूर्वमुख्यमन्त्री, सभामुख, नगर र पाउँपालिका महासङ्घका अध्यक्ष र प्रदेश सचिवहरू । खाजा खाएर सबैजसो सहभागीहरू कार्यक्रम हलमा प्रवेश गर्दै थिए । सहभागीहरूको टेबुलमा थियो, कार्यक्रमको कार्यसूची ।

त्यति नै बेला कार्यक्रम हलमा उपस्थित भए, कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही । कार्यक्रम सुरु हुनु अगावै जुरुक्क उठेर शाहीले टेबलमा रहेको कार्यसूचीप्रति चित्त दुखाए । ‘मेरो वरीयता किन झारियो ? विशिष्ट अतिथिमा हुनुपर्ने होइन । किन यस्तो गरेको ? भन्दै प्रश्न गरे ।’

आयोजक अर्थमन्त्रालयले माफी माग्दै कार्यसूचीको तल विस्तृत जानकारीमा विशिष्ट अतिथिमा नै भएको र माथि मिस्टेक भयो भन्दै तत्काल सच्यायो । त्यसपछि कार्यक्रम सुरु भयो । कार्यक्रमको सभाध्यक्षमा अर्थमन्त्री राजीवविक्रम शाह, प्रमुख अतिथिमा मुख्यमन्त्री यामलाल कँडेल र विशिष्ट अतिथिमा सभामुख नन्दा गुरुङ र नेता शाहीलाई आसन ग्रहण गराइयो ।

कार्यक्रममा अगाडि बढ्यो, राष्ट्रिय गान, शहीदको सम्झनामा मौन धारण सबै सकियो । विधेयकबारे अर्थसचिव रविलाल शर्माले प्रस्तुति दिइरहेका थिए । त्यति नै बेला माथि ड्यासमा बसेका नेता शाही ‘हामी त सामान्य अतिथि पर्‍यौं, तलै बस्दा ठिक होला’ भन्दै तल झरे । ‘त्यसको केही समयमा उहाँ र मुख्यमन्त्रीबीच भनाभन जस्तो भयो ।

पूर्वमुख्यमन्त्री शाही कार्यक्रमको बीचैमा उठेर हिँड्नुभयो,’ कार्यक्रमका एक प्रत्यक्ष दर्शी सांसदले भने । बरीयतामै चित्त दुखाएका शाहीले कार्यक्रम बाहिर बोलाएर कांग्रेसबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीहरूलाई समेत झपारेका थिए ।

नेता शाही उठेपछि उनी निकट कांग्रेसका सांसद र मन्त्रीहरू पनि उठेर कार्यक्रमबाट बाहिरिए । त्यसपछि कार्यक्रम नै स्थगन भएको कार्यक्रममा सहभागी सांसदहरू बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us