एक लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०८२ साउन २३ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, २३ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कल्यापुर नगरपालिका–६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाण्डूमा मुद्दा दायर गरेको हो ।

उजुरी निवेदनका आधारमा बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित यसअघि नै नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

थप अनुसन्धानका क्रममा मेयर साहले कल्याणपुर नगरपालिका–६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार स्रोतले जानकारी दिएका ।

मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै विशेषमा शुक्रबार आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us