काठमाण्डू, २३ साउन– सत्ता घटक दल कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन तयार गरेको थियो ।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका छन । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेका छन । खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १–२ दिनमा निर्देशन दिने भएको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ ।
खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिएका छन ।