४२ दिनका लागि आज २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाण्डु टुडे २०८२ साउन १४ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, १४ साउन– बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप तान्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्ने तयारी गरेको हो ।

अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदर अनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us