काठमाण्डू, १३ साउन– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचन (नेप्से) चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ । मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ बिन्दुमा आएको थियो ।
नेप्सेले एक वर्षअघिको उच्च बिन्दु पार गरेको हो। ०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो । यसअघि नेप्से ०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो। मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो । आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ ।
यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य सर्किट लेभलमा बढेको छ। समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १४८ रूपैयाँ ८४ पैसामा झरेको छ । यसैगरी, विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य २.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९५ रूपैयाँ ५१ पैसा कायम भएको छ ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ५२४ रूपैयाँ ६४ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।