काठमाण्डू ६ साउन– एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको जानकारी दिएका छन ।
हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको जानकारी गराउँदै प्रचार विभाग प्रमुख गौतमले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा गरेको बताएका हुन ।
बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले अन्तिम बैठकको अन्तिममा सम्बोधन गर्दा केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं,’ गौतमले भने । भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको उनले बताए ।
‘राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन,’ गौतमले भने, ‘यो महत्त्वपूर्ण राजनीतिक विषय हो ।
यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ ।’