एमालेले काँग्रेसको मुटुमै प्रहार गरिरहेको छः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ साउन ६ गते ११:३७ मा प्रकाशित

काठमाण्डू, ६ साउन–कांग्रेसका शेखर कोइरालाले सत्ता सहयात्री एमालेले आफ्नो दलको मुटुमै आत्रलमण गरिरहेको आरोप लगाएका छन् ।

काँग्रेस संस्थापक बीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीको दल एमालेले काँग्रेसको मूल्ययमान्यता र मुटुमै आक्रमण गरिरहेको बताए ।

कुलिङ अफ पिरियड, भूमिसम्बन्धी विधेयक र संवैधानिक परिषद् विधेयकमार्फत एमालेले कांग्रेसको मूल्य मान्यतामा आक्रमण गरेको उनको भनाइ थियो ।

उनले यति गर्दा पनि काँग्रेस नेतृत्व चुप लागेर बसेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरे । ‘एमालेले कांग्रेसको मुटुमा, ‘कोरभ्यालु’ मा एमालेले आक्रमण गरिरहेको छ,’ कोइरालाले भने, ‘हामी चुपचाप लागेर बसिरहेका छौं । बिपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो ।’
‘प्रतिनिधि सभाले संवैधानिक परिषदसम्बन्धी विधेयक पास गर्दा पार्टीले ह्वीप लगाएमामा पनि उनले असन्तुष्टि जनाए । आफूहरुले दुई दिनसम्म विधेयक रोके पनि संसदीय दलले ह्वीप लगाएका कारण बाध्य भएर समर्थन गर्नुपरेको प्रष्टीकरण कोइरालाले दिए । कोइरालाले परिषदसम्बन्धी विधेयकविरुद्ध अदालतमा रिट दर्ता हुने दाबी गरे ।

कोइरालाले घूस डिल गरेका एक मन्त्रीले राजीनामा दिए पनि अर्कामन्त्रीलाई जोगाइएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे ।

पोखराको लिची बगैंचा बिचौलियाको योजनामा व्यक्तिका नाममा नामसारी गर्न गरिएको आर्थिक मोलमलाइको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । तर, सोही प्रकरणमा मुछिएका भूमिमन्त्री बलराम अधिकारीले अझै राजीनामा दिएका छैनन् ।

एमाले कास्की जिल्ला समितिलेसमेत भूमिमन्त्री अधिकारीको राजीनामा मागिसकेको अवस्थामा काँग्रेस चुप लागेर बस्नु लाछीपन भएको उनले टिप्पणी गरे ।

कोइरालाले कार्यक्रममा सहभागी सभापति शेरबहादुर देउवा आफ्ना कुरा नसुनी हिंडेकामा पनि असन्तुष्टि जनाए । कोइरालाले भूमि विधेयकमा एमालेको हतारो शंकास्पद रहेको भन्दै काँग्रेसले विचार गर्नुपर्ने बताए ।

‘भूमि विधेयक आज भोलि नै पारित गर्नुपर्ने हतारो किन छ ?’, उनले भने, ‘एमाले किन समितिमा विधेयकमाथि छलफल गर्न डराइरहेको छ ?’ ।

कोइरालाले अवकाश वा राजीनामा दिएको दुई वर्षपछि मात्र सरकारी कर्मचारीलाई संवैधानिक वा अन्य नियुक्ति दिने भन्ने निजामति सेवा विधेयकमा भएको सहमतिविपरीत एमालेले राष्ट्रियसभामा संशोधन दर्ता गराएकामा उनले आक्रोश पोखे । ‘सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ कुलिङ पिरियड राखौं भनेर’, कोइरालाले भने, ‘काँग्रेस किन यस्तो लाछी भएको हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us