काठमाण्डू, ५ साउन– कांग्रेस महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएकों भन्दै गुनासो गरेका छन । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।
महमन्त्री थापाले भने, ‘त्यो ६० लाख दिन्छु भनेर त्यो साथीले नभनेको भए मैले लाइब्रेरी बनाउँछु भन्ने सोचेर त्यो प्रस्ताव सभापतिकोमा लैजानै सक्दैन थिएँ, ६० लाख दिन्छु भनेर मेरो हिम्मत बढाउनुभयो । तर, त्यो दिनदेखि फर्केरै आउनु भएन ।’ तर, उनले ती साथीको नाम भने खुलाएनन् । उनले भने, ‘४० लाख रुपैयाँ पार्टीको साथीहरूबाट उठाएर दिने जिम्मा मेरो भयो भन्नुभयो ।
तर, माथिपट्टिको कोठामा डिजाइन भयो । मोटामोटी १ करोडको हाराहारीमा खर्च आउँछ भन्ने भयो । उहाँले ६० लाख जुटाउने जिम्मा मेरो भन्नुभयो ।’ तर, ती साथी फर्केरै नआएको बताए । उक्त कोषमा सभापति शेरबहादुर देउवाले १ लाख रुपैयाँ राखेको पनि उनले बताएका छन । फरक प्रसंगमा थापाले कांग्रेस पुरानो भयो, थोत्रो भयो भन्ने नकारात्मक भाष्य स्थापित भएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘आज नेपाली काँग्रेस अगाडिको प्रश्न, चुनौती भनेकै के छ भने पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ ।’ उनले कांग्रेस त्यसबाट बाहिर निस्किएर आउनुपर्ने तर्क गरे ।